मेरो ब्लग www.bhaibibek.blogspot.com भ्रमण गर्नु भएकोमा यहाँहरु लाई मुरी-मुरी धन्यवाद् छ। कृपया फेरिपनी मेरो ब्लग www.bhaibibek.blogspot.com चियाउदै गर्नुहोला। तपाईंलाई भन्न मन लागेका केही कुरा हरु छन भने मेरो फेसबुक मा गएर पनि मेसेज छोड्न सक्नुहुन्छ साथै साथी बनेर साथीत्व को भावना निभाउन सक्नुहुनेछ। तपाईंको दिनहरु सधैं शुभ-रहोस्। धन्यवाद् ।तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनुहुन्छ भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः bhai_bibekpearl@yahoo.com / prkshbhandari61@gmail.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

Recent Post

Saturday, 20 April 2013

खोप लगाएर फर्कंदा आमा छोरालाई खोलाले बगायो


शुक्रबार २५ वर्षीया किपा साइली शेर्पा मृत फेला परेकी हुन् । बिहीबार स्थानीय स्वास्थ्य केन्द्रमा बच्चालाई खोप लगाएर घर फर्कने क्रममा कुई खोलामा आएको बाढीले आमा र बच्चालाई बगाएको स्थानीयले बताए । 
खोलाले बगाएका बच्चा भने अझै नभेटिएको प्रहरीले जनाएको छ । घटनास्थल सदरमुकाम खाँदबारीवाट २ दिनको पैदल दुरीमा पर्छ । 

रातभर सामूहिक बलात्कार


उनी मंगलबार दिउँसो बाख्रा चराउन जंगल गएकी थिइन् । जंगलबाट अबेला फर्केपछि साँझ 'कपालमा लगाउने भिटामिन' किन्न भनेर घरबाट निस्किइन् । ढिलासम्म पनि २१ वर्षीया छोरी नफर्केपछि राति आमा र भाइले गाउँका आफन्तहरूकामा खोजी गरे ।
नभेटेपछि साथीकहाँ गएको अड्कल काटे । तर उनी बलात्कारी युवाहरूको चंगुलमा फसेकी थिइन् । घरबाट ५ मिनेट पर पुगेकी नवलपरासीकी युवतीलाई बाटोबाटै रूपन्देही केरबानीका युवाले नियन्त्रणमा लिँदै लतारेर लगेका थिए । र, केरबानीमा उनीमाथि रातभर सामूहिक बलात्कार भयो । ती युवतीको अवस्था गम्भीर छ ।शुक्रबार साँझसम्म पूर्ण होस आएको छैन । बुधबारदेखि उनको लुम्बिनी अस्पतालमा उपचार भइरहेको छ । चिकित्सकका अनुसार पाठेघरको ३ दशमलव २ सेन्टीमिटर भित्रीभाग च्यातिएको छ । शल्यक्रिया गरी च्यातिएको पाठेघर सिलाइएको छ । घटनाको चार दिनसम्म रक्तस्राव रोकिएको छैन । शुक्रबारसम्म ३ पिन्ट रगत दिइएको चिकित्सकले बताए । उनी शारीरिक र मानसिक रूपमा विक्षिप्त छिन् । छिन-छिन होसमा आउने र लगत्तै बेहोस हुने गर्छिन् ।उनलाई केरबानीमा लक्ष्मीटोल नजिक रातभर बलात्कार गरिएको थियो । आफ्नो होस छँदासम्म ६ जनाले बलात्कार गरेको त्यसपछि थाहा नपाएको युवतीले बताइन् । बिहान उज्यालो हुँदा आफू खेतमा पल्टिएको थाहा पाएपछि घसि्रएर सय मिटर टाढा सडकमा पुगेको उनले जानकारी दिइन् । प्रहरीका अनुसार घटनास्थल र उनी घसि्रएको स्थान रगताम्य छ । बुधबार बिहान ७ बजे रगताम्य र विक्षिप्त अवस्थामा सडकछेउमा बसेकी युवतीलाई गाउँका दुई महिलाले देखेका थिए । घटनामा संलग्न चार जनालाई पक्राउ गरेको डीएसपी राजकुमार बैदवारले बताए । एक जना फरार छन् । पक्राउ पर्नेमा केरबानी-१ का लालबहादुर छेत्री, अशोक विक, दाङका दिल्ली घम र कपिलवस्तुका विष्णु लोनिया छन् ।
उनीहरूले प्रहरीसमक्ष अपराध स्वीकारेका छन् । उनीहरूलाई अदालतबाट म्याद थप गरी  अनुसन्धान जारी राखिएको छ । घटनामा संलग्नताको शंकामा प्रहरीले अन्य तीन जनालाई पनि पक्राउ गरी सोधपुछ थालेको बैदवारले बताए । घटनास्थल खेत र पोखरी खन्ने मजदुर बस्ने झुपडीबाट रगताम्य लुगा पनि प्रहरीले बरामद गरेको छ । रक्सी तथा बियरका खाली बोतल र चुरोटका ठुटासमेत भेटिएका छन् ।

परराष्ट्रमा साढे ८७ करोड अनियमितता


परराष्ट्र मन्त्रालयले आव २०६८/०६९ मा कानुन मिचेर करिब ८७ करोड ५४ लाख रुपैयाँ खर्च गरेको छ । महालेखा परीक्षकको कार्यालयले उक्त खर्च 'कानुनसम्मत नदेखिएको' जनाएको छ । 
परराष्ट्र मन्त्रालयले स्वास्थ तथा बिमाबापत करिब १० करोड ७९ लाख रुपैयाँ र पारिवारिक भत्ताबापत ७ करोड १९ लाख रुपैयाँ कानुनसम्मत नहुने गरी खर्च गरेका हुन् । त्यस्तै परराष्ट्रले विदेशस्थित नियोग तथा दूतावासबाट उठाएको ६२ करोड ५७ लाख रुपैयाँ सञ्चित कोषमा दाखिला नगरेको तथा आयकरबापत १ करोड ७९ लाख रुपैयाँ नबुझाएको महालेखा परीक्षकको ५० औं वाषिर्क प्रतिवेदनमा उल्लेख छ । त्यस्तै परराष्ट्रले रकमान्तर स्वीकृतिबेगर २ करोड ८८ लाख ५३ हजार रुपैयाँ खर्च गरेको छ भने परिवार साथमा नलगी २ करोड २४ लाख ९७ हजार रुपैयाँ पारिवारिक भत्ता र बिनाप्रमाण ६ लाख ८२ हजार रुपैयाँ शैक्षिक भत्ता दिएको छ । बजेटमा व्यवस्था नभए पनि परराष्ट्रअन्तर्गतका ३२ नियोग तथा दूतावासले गत आवमा स्वास्थ्य तथा बिमाबापत करिब १० करोड ७९ लाख रुपैयाँ खर्च गरेका हुन् । यो खर्च 'अन्य भत्ता' शीर्षकमा राखिएको छ । आर्थिक कार्यविधि नियमावलीले बजेटमा व्यवस्था नभइ खर्च गर्न स्वीकृति दिँदैन । मन्त्रिपरिषद्ले २०५१ जेठमा पूर्वस्वीकृति लिएर स्वास्थ्य तथा बिमा खर्च गर्नुपर्ने तथा त्यस्तो खर्च सरकारले बेहोर्नुपर्ने निर्णय गरेको थियो । तर स्वास्थ्य तथा बिमा खर्च गर्दा पूर्वस्वीकृतिसमेत नलिएको प्रतिवेदनमा उल्लेख छ । 
'कतिपय नियोगले स्वास्थ्य बिमा भएको अवस्थामा समेत बिमा कम्पनीले नबेहोरेको कारण देखाई औषधि उपचार खर्च भुक्तानी गरेको पाइयो,' प्रतिवेदनमा उल्लेख छ, 'औषधि उपचारमा अन्य भत्ता शीर्षकबाट खर्च लेख्दा आर्थिक विवरणले यथार्थ स्थिति चित्रण नगर्ने तथा आर्थिक कार्यविधि र बजेट सिद्धान्त विपरीत देखिँदा बजेटमा व्यवस्था नगरी खर्च गर्ने परिपाटी नियन्त्रण गर्नुपर्ने देखिएको छ ।'परराष्ट्र प्रवक्ता अर्जुनबहादुर थापाले हिनामिना गर्ने उद्देश्यले खर्च नभएको प्रतिक्रिया दिए । 'बिमा भत्ताको पैसाबाट गरिएकाले शीर्षक नमिलेको मात्र हो,' संक्षिप्त प्रतिक्रियामा उनले भने, 'हिनामिना गर्ने उद्देश्यले कुनै खर्च भएको छैन ।' उनले परराष्ट्रका कर्मचारीको तलबमा कर कट्टा भइरहेको बताए । 'विदेश भत्तामा विश्वभर कतै आय कर लाग्दैन,' उनले भने, 'अन्य मन्त्रालयका कर्मचारीले पनि विदेश जाँदा पाउने भत्तामा कर तिर्नु पर्दैन ।' महालेखाले विदेशस्थित नियोगका कर्मचारीले १ करोड ७९ लाख आयकर तिर्न बाँकी रहेको प्रतिवेदनमा उल्लेख गरेको छ । थापाले बजेट निकासामा ढिलाइ हुन सक्ने र आकस्मिक रूपमा खर्च गर्नुपर्ने सम्भावना मध्यनजर गर्दै राजस्व उठेको ६२ करोड ५७ लाख रुपैयाँमध्ये धेरै रकम सञ्चित कोषमा दाखिला नगरेको दाबी गरे । गत आवमा पेरिस र ब्रसेल्सस्थित नियोगले ३ कर्मचारीलाई उमेर खुलेको, छोराछोरीे स्कुल भर्ना भएको र शुल्क तिरेको प्रमाणबेगर ६ लाख ८२ हजार रुपैयाँ दिएको छ । विदेशस्थित नियोगका कर्मचारीले ५ देखि १८ वर्षसम्मका २ सन्तानलाई १२ कक्षासम्म पढाउन शैक्षिक भत्ता पाउँछन् । त्यसका लागि उनीहरूले प्रमाण पेस गर्नुपर्ने व्यवस्था छ । प्रतिवेदनका अनुसार गत आवमा २९ नियोगका कर्मचारीले परिवार साथमा रहेको प्रमाण पेस नगरी ७ करोड १८ लाख ७५ हजार रुपैयाँ लिएका छन् । त्यस्तै १० नियोगका कर्मचारीले परिवार साथमा नलगी २ करोड २४ लाख ९७ हजार रुपैयाँ पारिवारिक भत्ता लिएका छन् । मन्त्रिपरिषद्ले २०५१ जेठमा परिवार साथमा नरहेको अवस्थामा पारिवारिक भत्ता नपाउने निर्णय गरेको थियो । 
सार्वजनिक लेखा समितिले २०६३ पुस र २०६९ वैशाखमा परिवार साथमा रहेको अभिलेख राख्न निर्देशन दिएको थियो । 'आर्थिक कारोबारसम्बन्धी निर्देशिका, सार्वजनिक लेखा समिति र मन्त्रिपरिषद्को निर्देशन पालना नगर्नु उचित देखिँदैन,' यस सम्बन्धमा प्रतिवेदनमा उल्लेख छ ।

छुट्टा–छुट्टै स्थानमा परेको चट्याङले तीनको मृत्यु


छुट्टा–छुट्टै स्थानमा शुक्रबार राति परेको चट्याङबाट तीन जनाको  मृत्यु भएको  छ भने दुईजना घाइते भएका छन् ।अविरल वर्षा र हावाहुरीसँगै परेको चट्याङ बाट हाडहाडे गाविस ७ की १३ वर्षीया वसन्ती काउछा र गैंडाकोट गाविस ७ का आठ महिनाको बच्चा अभिषेक विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । मृतकको शव परीक्षणका सदरमुकाम तम्घास अस्पताल ल्याईंदै छ ।
यसैगरी झापा अर्जुनधारा–३ बस्ने ४२ वर्षीय नवीन चौहानको मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । उनी ९ बजे आफ्नो खेतमा पानी लगाउन गएका बेलामा सोही समयमा वर्षासँगै चट्याङ परेको थियो । अबेर रातिसम्म घर नफर्केपछि परिवारजनले खोजतलास गर्दा शनिबार बिहान खेतमा उनी मृतावस्थामा फेला परेको बताइएको छ ।
त्यस्तै चट्याङ ले धुर्कोट जैसीथोक– ६ का १४ वर्षीय विजय घर्ती मगर र दुविचौरकी ११ वर्षीया मञ्जु पुन घाइते भएका छन् ।  घाइते घर्ती मगर वस्तु गाविसमा दिदीको घरमा गएका बेला चट्याङ लागेको प्रहरीले जानकारी दिएको छ । उनीहरुको पाल्पा अस्पतालमा उपचार भइरहेको छ ।

Tuesday, 16 April 2013

पशुपतिमा दाउरा बिना शव जलाउन मिल्ने


पशुपति आर्यघाटस्थित अब विद्युतीय चिता बन्दैछ। दाउरा प्रयोग गर्नु नपर्ने विद्युतीय चिताको तयारी अन्तिम चरणमा पुगेको छ। आधुनिक चिता जडान गर्न दुईवटा विद्युतीय मेसिन ल्याइसकिएको छ। भारतको कलकत्तास्थित इन्डोमेन इन्जिनियरिङ सर्भिसबाट विद्युतीय मेसिन, प्रदूषण नियन्त्रण संयन्त्र, र चिम्नीसमेत गरी दुई करोड ५९ लाख रुपैयाँमा उपकरण ल्याइसकिएको छ। अब केही पूर्वाधार र मेसिन जडान गर्न बाँकी रहेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव सुशील नाहटा बताउँछन्। दुई महिनापछि नै विद्युतीय शवदाह गृह सञ्चालनमा ल्याउने अन्तिम तयारी भइरहेको छ,' सदस्य सचिव नाहटाले भने। विद्युतीय चिता (इलेक्ट्रोनिक क्रिमिटोरियम)मा अब मेसिनका साथै निरन्तर विद्युत आपूर्तिका लागि ट्रान्सफर्मर र जेनेरेटर जडान गर्न बाँकी छ।
दाउरा प्रयोग गरी पशुपति आर्यघाटस्थित चितामा शव जलाउँदा बाग्मती नदी र वातावरण प्रदूषण भइरहेकोमा स्थानीयले असन्तुष्टि जनाउँदै आएका थिए। काठमाडौंको बढ्दो जनसंख्या र दाउराबाट शव जलाउँदा खर्च र प्रदूषण बढ्नु साथै समय धेरै लाग्ने भएकाले विद्युतीय चिता निर्माण अघि बढाएको सदस्यसचिव नाहटाले बताए।
आर्यघाटस्थित परम्परागत चितामा अहिले दैनिक ४० देखि ५० वटा शव जलाउने गरिएको छ। विद्युतीय चितामा १२ सय डिग्री सेन्टिग्रेड तापक्रममा प्रदूषणरहित तरिकाले एक घन्टाभित्र शव जलिसक्ने कोषका इन्जिनियर अक्रुरसिंह महत बताउँछन्। चार करोड लगानीको भवन बनिसकेको छ। शव जलाउनुअघि गरिने आवश्यक धार्मिक संस्कार पूरा गर्न हल निर्माण गरिएको छ। त्यस्तै, शवलाई केही दिन चिसोमा राख्न सकिने व्यवस्था गरिएको छ। 'विधिअनुसार दाहसंस्कारका सम्पूर्ण प्रक्रिया पूरा गर्न सकिन्छ,' सदस्यसचिव नाहटाले भन्छन्, ‘विेदशमा रहेका आफन्त आउँदासम्म शव सुरक्षित गर्न चिसो ठाउँको व्यवस्था गरिएको छ।' त्यस्तै, आँखा दान गर्न चाहनेहरुका लागि पनि व्यवस्था गर्न लागिएको कोषले जनाएको छ।
यो चिता प्रयोगवापत विद्युत प्राधिकरणले लिने शुल्कलाई दृष्टिगत गरेर शुल्क लिइनेछ। प्राधिकरणले लिने शुल्कअनुसार हामीले पनि शुल्क निर्धारण गर्छौँ,' सदस्य सचिव नाहटाले थपे, ‘नाफा गर्ने उद्देश्य छैन। न्यून शुल्क लिने सोच छ।'
सरकारले यसअघि २०४६ सालमा टेकुमा विद्युतीय शवदाह गृह सञ्चालन गर्ने योजना बनाएको थियो। त्यसपछि काठमाडौं महानगरपालिका र कोषलगायत संस्थाले विद्युतीय गृह बनाउन प्रयास गरेपछि सफल भएन। २०४८ सालतिर काठमाडौं महानगरपालिकाले विष्णुमतिमा शव दाह गृह मेसिन जडान गरेको थियो। तर मेसिनमा शवदाह गर्न धेरै रुचाएनन्। तत्कालीन अवस्थामा एक करोडमा ल्याइएको मेसिन महानगरको कार्यालयमा अलपत्र परेको छ। त्यसपछि २०५० सालमा पनि महानगरपालिकाले अर्को मेसिन ल्याउन ८० लाख रुपैयाँ छुट्याएको थियो। तर पहिलाजस्तै मेसिन अलपत्र पर्ने शंकाले मेसिन ल्याइएन।
संस्कृतिविद गोविन्द टण्डनका अनुसार संसारभर लागु भइसकेको विद्युतीय चिता पशुपति क्षेत्रमा प्रयोग हुनुलाई सकारात्मक ठान्छन्। ‘काशी, बनारसमा पनि विद्युतीय चिता प्रयोग हुन थालेको छ,' टन्डन भन्छन्, ‘विद्युतीय चितामा शव जलाउँदा धार्मिक मान्यता र संस्कारमा कुनै असर पर्दैन। दाउरामा होस् वा मेसिनमा, जेमा अन्त्येष्टि गरे पनि यो शरीर पञ्चतत्वमै मिल्ने हो।'
दाउराको कमी हुँदै गएको, प्रदूषण र परम्परागत रुपमा जलाउँदा बीभत्स देखिने भएकाले आधुनिक चिता ठिक भएको उनको धारणा छ। समयअनुसार धर्मलाई चलाउनुपर्ने उल्लेख गर्दै उनी थप्छन्, ‘धर्म र संस्कार पनि परिवर्तित समयअनुसार आत्मसात गराउनुपर्छ।' विद्युतीय चिता नरुचाउनेका लागि पनि आर्यघाटको परम्परागत चिता कायमै रहने कोषले जनाएको छ।
विद्युतीय
चितामा चौबिसै घन्टा विद्युत आपूर्तिका लागि कोषले विद्युत प्राधिकरणमा निवेदन दिइसकेको छ। आधुनिक चितामा शव जलाउन शुरुका केही महिना भारतीय कम्पनी इन्डोमेन इन्जिनियरिङका कर्मचारीले सघाउनेछन्। त्यसपछि कोषका कर्मचारीलाई तालिम दिइनेछ। आधुनिक चितामा मेसिनलगायत अन्य उपकरण जडान र अनुगमनका लागि पुल्चोक इन्जिनियरिङ कलेजका प्रमुख अरविन्दकुमार मिश्र, चित्रबहादुर खड्कासहित परामर्शको टोली छ।

Saturday, 13 April 2013

नयाँ बर्ष २०७० साल् को धेरै धेरै शुभकामना

तपाईंहरुले मलाई आज सम्म जे जसरी सहयोग गर्नु भयो त्यस्को लागि हजुर हरुको ऋणी छु । विश्वाश छ अबका दिन हरुमा पनि हजुर हरुको न्यानो साथ् कहिले छुट्ने छैन , कहिले कमी हुने छैन भन्ने आशा गरेको छु । मेरा सम्पूर्ण बुवा,आमा,दाजु,भाई,दिदी, बहिनी, तथा मेरा मित्रजन तथा मान्यजन् हरुमा नयाँ बर्ष २०७० साल् को धेरै धेरै शुभकामना । तपाईंको जिन्दगी फलोस फुलोस,तपाईंले चालेका हरेक पाइला हरुमा सफलता ले शिखर चुमोस । दु:ख कस्ट कहिले आइ नपरोस । मेरो तर्फ बाट धेरै शुभकामना । 

प्रकाश भण्डारी बिबेक 
गुल्मी , 
हाल: शंखमुल,


Thursday, 17 January 2013

मन्त्रीकै अगाडि बुद्ध भारतमा जन्मिएको ब्रोसर बाँडियो


नेपाल-भारत पर्यटनसम्बन्धी छलफलका लागि लुम्बिनीमा गरिएको एक कार्यक्रममा भारतीय पर्यटन बोर्डले गौतमबुद्ध लुम्बिनी मा जन्मिएका र उनका बुबा शुद्धोधनको कपिलवस्तु दरबार भारतको उत्तर प्रदेशमा पर्दछ भन्ने भ्रामक किताब तथा ब्रोसरहरु वितरण गरेको छ ।
बुद्ध र्सर्किटसम्बन्धी दुई देशको पर्यटन बोर्ड, नेपालका संस्कृति तथा नागरिक उड्डयनमन्त्री पोष्टबहादुर बोगटी तथा नेपालका लागि भारतीय राजदूत जयन्तप्रसाद सहभागी रहेको कार्यक्रममा उपस्थित सबैलाई भारतीय पक्षले उक्त किताब र ब्रोसर बाँडेको थियो ।
कार्यक्रममा दुईदेशका ट्राभल एजेन्ट तथा पर्यटन व्यवसायी पनि सहभागी थिए ।
लुम्बिनी मा माघ २ र ३ गते दर्ुइ दिनसम्म चलेको सो कार्यक्रममा भारतीय पर्यटन बोर्डका कर्मचारीले व्यापकरुपमा कार्यक्रमस्थलमै ब्रोसर वितरण गरिरहँदा नेपाल पर्यटन बोर्ड रमिते देखिएको सहभागी प्रकाश न्यौपानेले बताए ।
भारतीय पक्षबाट बुद्ध र्सर्किटको प्रचार भन्दै कार्यक्रम गरिरहँदा सो ब्रोसरमालुम्बिनी बाहेकका बुद्धसँग सम्बन्धित रामग्राम, देवदह, तिलौराकोटको नाम नै राखिएको थिएन । भारतीय पक्षले एकतर्फीरुपमा भारतमै रहेका सारनाथ, सेराबस्ती, सङ्किसा, कउसम्बी, कुशीनगर र लुम्बिनी लाई मात्र बुद्ध र्सर्किट भनेर व्याख्या गरेको छ ।
उनीहरुले वितरण गरेको ब्रोसरमा लुम्बिनी समेत नेपालमा पर्दछ भनेर लेखिएको छैन । उनीहरुको बुद्ध र्सर्किट भनेर बुद्ध लुम्बिनी मा जन्मेका हुन् मात्र लेखिएको छ भने अरू सबै भारतीय तीर्थस्थललाई मात्र देखाएर बुद्ध सर्किट भनिएको छ ।
नेपाल पर्यटन बोर्ड बेलहियाका प्रमुख प्रदीप बस्नेतले कपिलवस्तुको विषयमा भारतले पनि दाबा गरेको तर यो नेपालमा पर्ने जनाउँदै यसको विषयमा सरकारले कुटनीतिक पहल गर्न आवश्यक रहेको जनाए ।
भैरहवा क्याम्पसका क्याम्पस प्रमुख डा घनश्याम न्यौपानेले बुद्धको जन्म तथा शुद्धोधनको दरबार नेपालमा पर्छ भन्ने यथेष्ट प्रमाण हुँदा पनि नेपाली पक्षबाट यसको कुटनीतिक पहल गरी नसच्याउनु दुर्भाग्य भएको बताए ।
स्थानीय पत्रकार नरेश केसीले नेपालमै आएर कपिलवस्तु भारतमा पर्छ भन्दै ब्रोसर वितरण गर्नु लज्जाजनक भएको बताए ।  

'मलाई बुवाले बलात्कार गरे'


काठमाडौ, माघ ५ - बिहानको दश बज्नै लाग्दा काँडाघारी प्रहरी बिटमा एक बालिका दौडदै आइन् । सडक बाहिर घाम तापेर उभिरहेकी महिला प्रहरीलाई समातिन् । अनि बोलिन् 'आन्टी मलाई बाबाले जथाभाबी समात्यो' ड्युटीमा रहेकी ति महिला प्रहरी झस्किन् । अनि सोधिन्- के भो ? ति बालिकाले (झड्केलो) बाबुले आफ्नो यौन शोषण गरेको बताईन् ।
ति १० बषिर्य बालिकाले आमा चर्चमा प्रार्थना गर्न गएका बेला बाबुले आफु माथी यौन शोषण गरेको बताइन् । काँडाघारी चौकीका प्रहरी तुरुन्त ति बालिकाले देखाए तर्फ लागे । उनको घर पुग्दा एक महिला चिच्याइ रहेकी थिईन् । 'नानी बोकेर उता भाग्यो, सर' भन्दै कराउँदै थिईन् । ति महिला बालिकाकी आमा थिईन् । प्रहरीहरु छरिएर त्यो ब्यक्तिलाई खोज्न थाले । अलि पर ति ब्यक्ति ६ महिनाकी नानी च्यापेर दौडिरहेका बेला प्रहरीले समात्यो । जवर्जस्ती करणी अभियोगमा खोटाङका राई महानगरीय प्रहरी बृत नयाँ बानेश्वरको हिरासतमा छन् ।
खासमा के भएको हो ? ति बालिकाकै शब्दमा -
मेरो घर सिन्धुपाल्चोकको तातोपानी हो । मेरो आमाले २ बर्ष अघि यो बाबा -जङबहादुर राई)संग बिहे गरेको हो ।  आमाले यो बाबासंग बिहे गरेपछि तातोपानीको बुवाले मलाई काँडाघारीकै एक जना आन्टीको घरमा राखिदिनु भएको थियो । म आन्टीको घरमा बसेर न्यु स्टार स्कुलमा ३ कक्षा पढ्दै थिएँ । अस्ति दशैंमा घर -तातोपानी) गएको बेला मैले बुवालाई आमाको बारेमा सोधेँ । मामाघरको हजुरआमालाई आमा बस्ने ठाउँ थाहा रहेछ । हजुरआमाले मलाई र बहिनीलाई आमाको घर ल्याइदिनु भयो । मैले त्यो बेला घर जाने बाटो याद गरेकी थिएँ । आमालाई भेटेर म काँडाघारीमा आन्टीको घर गएँ । तर मलाई आमा बिना बस्न मन लागेन । पढ्न पनि मन लागेन । अनि म भागेर आमा भएको ठाउँमा आउँथे । स्कुल पनि जान छाँडे । आमाले मलाई नआईज भनेर धेरै पिट्नु भयो । पढाउने, खुवाउने मसंग पैसा छैन भन्दै गालामा पिटेर पठाउनु हुन्थ्यो । आन्टीको घरमा पुर्‍याउन जानु हुन्थ्यो । तर म फेरी भागेर आउँथे ।
म धेरै भाग्न थालेपछि आमाले मलाई आफैसंग राख्न थाल्नु भयो । म र बहिनी आमासंग बस्न थालेको २ महिना जति भयो । आमासंग बस्न थालेपछि फि तिर्न नसकेर स्कूलले निकालिदियो । आमा सधैं बिहान संगतीमा जाने भएकाले म नै खाना बनाउँथे । बाबा घरमा रङ लगाउने काम गर्नुहुन्छ । यो बाबाले मलाई पहिले पनि मेरो छाती र पिसाब गर्ने ठाउँमा छुने गर्नुहुन्थ्यो । अस्ति पुष २८ गते दिउँसो बाबा खाना खान घर आउनु भयो । मेरो बहिनीलाई घाम ताप्न बाहिर पठाएर मलाई कोठामा काम छ भन्दै भित्र लगेर जबरजस्ती गर्नु भयो ।  म रोएँ, चिच्याएँ । उहाँले मेरो मुख हातले थुन्नु भयो । आमा वा अरु कसैलाई सुनाइस भने तँ, तेरो बहिनी र आमा दुबै जनालाई मार्छु भन्नुभयो । अनि मैले डरले भनिन । अस्ति १ गते सक्रान्तिको दिन पनि आमा संगतीको लागि भनेर बिहानै सानो बहिनी बोकेर जानु भयो । म घरमा बहिनीसंग थिएँ । बिहानै कता जानु भएको थियो कुन्नी बाबा दिउँसो खाना खान आउनु भयो । बहिनीलाई त्यसरी नै घाम ताप्न पठाएर मलाई खाना पस्किन  बोलाउनु भयो । भित्र पस्ने बित्तिकै बाबाले मेरो हात समातेर ओछ्यानमा लैजानु भयो । म रोएँ । आमालाई भनिदिन्छु भन्दै भागेँ । उहाँले लखेटेर मलाई फेरी समात्नु भयो । अनि मुख थुन्दै कपडा खोलेर पहिलाको जस्तै गर्नु भयो । बाहिर घाम तापेर बसिरहेकी बहिनी म धेरै बेर नआएपछि कोठामा आउन खोजिछ । ढोका नखुलेपछि उसले झ्यालको पर्दा हटाएर हेर्दा बाबाले मेरो मुख थुनेर जबरजस्ती गरेको देखेपछि ऊ पनि कराई । बाबा हतपत ढोका खोलेर बाहिर गएर बहिनीलाई भित्र ल्याउनु भो । दुबै जनाको हात समातेर कसैलाई सुनायौ भने सबैलाई मारिदिन्छु भन्नु भयो । बाबा खाना नखाई जानु भो । म र बहिनी अंगालो हालेर रोयौं । म, बहिनी र आमालाई पनि मारिदिने भनेपछि डरायौं । आमा ३ बजे तिर चर्चबाट आउनु भयो । हामीले केहि भनेनौं । एकछिन पछि म ट्वाइलेट गएँ । पिसाब पोलेकाले म ट्वाइलेट भित्रै रोएर बसेँ । आमाले ढोका ढक्ढक्याउँदै किन यत्रो बेर लाग्यो भनेपछि खोलेँ ।
आमाले मलाई तेल किनेर ल्याउन पैसा दिनु भयो । म केहि नभनि पसलमा गएँ । म पसल गएको बेला बहिनीले आमालाई बाबालाई नसुनाउने भए दिदिलाई आज दिउँसो के भयो सुनाउँछु भनिछ । अनि आमाले बहिनीलाई बाबा घरमा हुनुहुन्न भन भन्नु भएछ । बहिनीले दिउँसो उसले देखेको कुरा सुनाउँदै गर्दा म पुगेँ । अनि आमाले मलाई सोध्नु भयो । मैले बाबाले मार्नुहुन्छ भन्दै सुनाउन मानिन । तर आमाले बाबा छैन म बाबालाई सुनाउँदिन भनेपछि सुनाए । बाबाले त्यस्तो गरेको भए प्रहरीलाई भन्नुपर्छ । जेल पठाउनुपर्छ भन्नु भयो । अनि मैले पहिला देखीको सबै कुरा  सुनाए । आमालाई सुनाउँदै गर्दा बाबा आइपुग्नु भयो । आमा बाबासंग झगडा गर्न थाल्नु भयो । मेरो छोरीलाई किन त्यस्तो गरेको भन्दै झगडा गर्नु भयो । म त्यो बेला बाबालाई छलेर बाहिर निस्किए । बाहिरबाट आमा बाबाको झगडा सुन्दै थिए । आमाले प्रहरीलाई भन्छु भन्दै हुनुहुन्थ्यो । बाबाले त्यसो गरिस भने सबैलाई मारेर म भाग्छु भन्दै हुनुहुन्थ्यो । बाबाले आमालाई कोठबाट बाहिर निस्कन दिनु भएन । अनि म दौडदैं प्रहरीमा आएँ । अनि आन्टीलाई सबै कुरा लगेर सुनाए । अनि प्रहरी गएर बाबालाई सानी बहिनीलाई लिएर भाग्दै गर्दा समाते । अब बाबालाई कारबाही हुन्छ रे, जेल जानु हुन्छ रे ।

बाबुद्वारा बेचिइन् छोरी


सुर्खेत, माघ ५ - घरबाट भागेर भारतको दिल्ली पुग्दा नजिकैकाहरूको जालमा परेर कोठीमा पुगेकी एउटी निरीह महिला बाबुलाई भेटेर घर र्फकन चाहन्थिन् । तर परिस्थिति अर्कै भइदियो ।
उल्टै बाबुले कोठीबाट छोरीलाई छुटाउनुको सट्टा दुई वर्षअघि  १५ हजार भारु हत्याएर दोस्रोपल्ट बेचिदिएको रहस्य खुलेको छ । कोठी आएको एउटा ग्राहकले समिता (नाम परिवर्तन) लाई त्यसरी बिछट्टै मन नपराएको भए सायद उनी अझै दिल्लीका नर्कजस्तो कोठीमै हुन्थिन् । पछि त्यही ग्राहकसँग भारतमै अदालती विवाह गरेकी उनी माइत आउँदामात्र यस्तो खुलासा भएको हो । आफ्नै गाउँकी ममता वादीले सञ्चालन गरेको कोठीमा पहिले बेचिएकी उनलाई बाबुले समेत रकम लिएर त्यहीँ छाडेका देखिएको प्रहरी उपरीक्षक विश्व निरञ्जन प्रधानले बताए ।
बेचबिखनमा बाबुसहित धेरै जनाको संलग्नता रहेको लिखित बयान दिएको आधारमा थप चार जनालाई पक्राउ गरिएको पनि प्रधानले जनाए । पक्राउ पर्नेमा समिताका बाबु पर्शुराम बुढाथोकी मिजार, सानोजात्रीकै ५२ वर्षीय बिसे कामी, २२ वर्षीय ओम मिजार र तुलसी वादी छन् । प्रहरी उपरीक्षक प्रधानले बेचबिखन कार्यमा संलग्न गिरोह धेरै ठूलो रहेको र केही फरार रहेको बताए । पक्राउ परेकी तुलसी वादी ममताकी आमा रहेको र बिसे, ओम कोठी सञ्चालनका सहयोगी भएको प्रहरीले जनाएको छ । 'कोठीमा अझै धेरै नेपाली चेली रहेको पनि ती युवतीले बताइन्,' प्रधानले भने ।
कोठीमा आउने ग्राहक भारतीय नागरिकको प्रेम बसेपछि गत जुन महिनामा उनीहरूले कोर्ट म्यारिजसमेत गरेको बयान तथा कागजपत्र रहेको प्रहरी उपरीक्षक प्रधानले बताए । युवतीलाई मन पराएपछि सम्पर्कका लागि फोन छोडेर गएका ती ग्राहकले कोठीमा प्रहरीले छापा मार्ने क्रममा बाहिर निकालेको बयान प्रहरीलाई उनले दिएकी छन् । कोठीबाट बाहिर निस्केपछि भारतीय प्रेमीसँग बिहे गर्ने क्रममा बाबुलाई पनि ममताले निम्त्याएकी थिइन् ।
प्रहरीलाई पीडितले दिएको बयानमा पर्शुरामले आफ्नो रोजीरोटी खोसेको भनी ज्वाइँसँग भारु १० हजार समेत असुलेका थिए । यसबाट पर्शुरामले त्यसअघि पनि रकम लिने गरेको आशंकामा बल पुगेको छ । बुवा पर्शुरामले पनि बिक्री गरेको आरोप स्विकारिसकेका छन् । पहिलोपटक छोरी गाउँकै अरूसँग भागेर भारत गएको र पछि आफू भारत गएको समयमा छोरीले छुटाउन आग्रह गरे पनि घरमा आर्थिक समस्या भएको भन्दै १५ हजार लिई छोरीलाई उतै छाडेर फर्केको बयान प्रहरीसमक्ष दिएका छन् । उनलाई बिक्री गर्नेहरू पक्राउ परेको घटना अझै नाटकीय लाग्छ ।
पीडित युवती र उनका श्रीमान्सहित मैनतडा-३ सानोजात्रीस्थित माइती घरमा आएको बेला बाबुले धम्क्याएका थिए । फर्केर भारत जाने क्रममा इलाका प्रहरी कार्यालय छिन्चुले जोडीलाई नै पक्राउ गरेको थियो । उनले झन्डै ज्वाइँलाई फसाएका । इलाका प्रहरी कार्यालय छिन्चुका इन्चार्ज प्रहरी निरीक्षक रमेश तामाङका अनुसार बसमा नयाँ अनुहार देखेर सोधपुछ गर्दा युवतीले सबै कुरा बताएपछि सबैभन्दा पहिला बाबुलाई पक्राउ गरिएको हो ।
तामाङले बसमा सोधपुछ गरी बाबुलाई बोलाइदिन्छौं भन्दा युवतीले मलाई मेरो बाबुले नै पहिला बेचेको हो भन्ने जवाफ दिएपछि अनुसन्धान प्रक्रिया अगाडि बढेको जनाए । यसबारे मैनतडामा अनुसन्धान सुरु गरेको पहरीले जनाएको छ । यसबाट सुर्खेतको पूर्वी क्षेत्रमा मानव बेचबिखनको डरलाग्दो अवस्था उजागरसमेत भएको छ । पक्राउ परेका पाँचै जनालाई प्रहरी हिरासतमा राखेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा थप अनुसन्धान गर्न ७ दिनको म्याद थप गरिएको जिल्ला अदालतका स्रेस्तेदार नारायण सापकोटाले जनाएका छन् । उनका अनुसार उक्त मुद्दामा युवतीका बाबुसहित ५ जना प्रतिवादी बनाइएको छ ।

त्रिसुलीमा बस खस्यो, ३ जनाको मृत्यु, ३१ घाइते


धादिङ, माघ ५ - यात्रुबाहक बस शुक्रबार बिहान त्रिसुलीमा खस्दा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा ३१ यात्रु घाइते भएका छन् ।वीरगञ्जबाट काठमाडौं आउँदै गरेको ना ४ ख ६११७ नम्बरको यात्रुबाहक बस बिहान ४ बजे पृथ्वी राजमार्ग अन्तर्गत धादिङको पीडा– २ बाङ्गेमा दुर्घटना भएको हो ।
 दुर्घटनामा घाइतेमध्ये गम्भीर अवस्थाका १२ जनाको राजधानीमा र बाँकीको गजुरीस्थित सामूदायिक अस्पतालमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय गजुरीका अनुसार ओभरटेक गर्दा बस दुर्घटना भएको हो । प्रहरी, स्थानीयवासी उद्दारका लागि खटिएका छन् ।

Wednesday, 9 January 2013

द्वन्द्वकालका घटनामा कांग्रेस-एमाले पनि चोखो रहँदैनः प्रधानमन्त्री


 प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सशस्त्र द्वन्द्वकालमा भएका घटनामा व्यक्ति-व्यक्ति गरेर गए कोही पनि चोखो नरहने बताउनु भएको छ ।
दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्याका अभियुक्तलाई पक्राउ गरेकोमा सरकारको समर्थन छैन भन्ने आफ्नो भनाईको चर्को अलोचना भएपछि प्रधानमन्त्री भट्टराईले आफ्नो आशय सत्यनिरुपण तथा मेलमिलाप आयोग गठन गरी देशैभरि द्वन्दको क्रममा भएका घटनाको निष्पक्ष अध्ययन अनुसन्धान गरी समग्र प्रक्रियामा अगाडि बढ्नु पर्छ भन्ने भएको बताउनु भएको छ ।
भट्टराईका स्वकीय सचिव बिश्वदीप पाण्डेद्धारा जारी प्रेस नोटमा भनिएको छ-’ व्यक्ति-व्यक्ति गरेर जान थाल्ने हो भने माओवादी मात्र होईन, कांग्रेस, एमाले, सुरक्षा निकाय कोहि चोखो रहँदैन् । त्यस्तो प्रकृयामा जाँदा समस्याको समाधान हुँदैन, द्वन्द्व नयाँ तरिकाबाट फैलिन सक्छ भन्नेतिर ध्यान पुर्‍याउनु जरुरी छ ।’ प्रधानमन्त्रीको आदेशमा अभियुक्तको वयान नरोकिएको भन्दै विज्ञप्तीमा ‘अधिकारवादीले उक्साए’ भनेर आफूले नभनेको दावी गर्नु भएको छ । मंगलबार राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री भट्टराईले कथित मानवअधिकारवादीहरुले उक्साएर द्वन्द्वकालको मुद्दा फेरि ब्यूँताउन थालिएको भन्दै पत्रकार थापाको हत्या अभियोगमा माओवादी कार्यकर्ता पक्राउ गरेकोमा सरकारको समर्थन नरहेकेा बताउनु भएको थियो ।
आयोग गठनमा जोड
प्रधानमन्त्री भट्टराईले सत्यनिरुपण तथा मेलमिलाप आयोग गठन सम्वन्धी अध्यादेश छिटो जारी गर्नु पर्नेमा जोड दिनु भएको छ । ‘लामो समयदेखि रोकिइरहेको सत्यनिरुपण तथा मेलमिलाप आयोगको अध्यादेश राष्ट्रपतिबाट छिटो जारी भएमा यो समस्या छिटो र न्यायपूर्ण ढंगले समाधान हुनेमा सवैको ध्यान जान जरुरी छ ‘ विज्ञप्तीमा भनिएको छ-’कुनै घटना बिशेष नजाउँ भन्नु हिंसा र दण्डहिनताको पक्षपोषण गर्न खोजेको हैन, नयाँ द्वन्द्वको सिर्जना नहोस् भनेर सावधानी अपनाउन खोजिएको हो ।’
द्वन्द्वका क्रममा भएका घटनाबारे सत्य पत्ता लगाई पहिलो प्राथमिकता मेलमिलापलाई दिउँ र मिल्न नसक्ने गम्भीर प्रकृतिका घटनामाथि कारवाही अगाडी बढाउँ भन्ने प्रधानमन्त्रीको धारणा रहेकेा र दलहरुवीच भएको सहमति पनि त्यही भएको विज्ञप्तीमा उल्लेख छ । निश्चीतखालका घटनालाई मात्र उचाल्नु प्रत्युतत्पादक हुने भन्दै प्रभट्टराईले दण्डहिनताको अन्त्य र दोषीलाई कारवाही गन आफू दृढ रहेको बताउनु भयो ।
लामाको पक्राउ गम्भीर अतिक्रमण
प्रधानमन्त्री भट्टराईले युद्ध अपराधका आरोपमा नेपाली सेनाका महासेनानी कर्णेल कुमार लामालाई बेलायत सरकारले अनधिकृत ढंगले पक्राउ गरेको भन्दै आपत्ति जनाएको भएको छ । लामाको पक्राउ नेपाली सार्वभौमसत्ताको गम्भीर अतिक्रमण भन्दै प्रधानमन्त्री भट्टराईले शान्तिप्रेमी, लोकतन्त्रवादी र देशभक्त नेपालीहरु संवेदनशील र एकतावद्ध आहृवान गर्नु भएको छ ।

आयल निगमका पूर्वमहाप्रबन्धक भ्रष्टाचारी


काठमाडौं, पुस २५ - सर्वोच्च अदालतले नेपाल आयल निगमका पूर्व महाप्रबन्धक मदनराज शर्मालाई भ्रष्टाचारी ठहर गरेको छ ।प्रधानन्यायाधीश खिलराज रेग्मी र न्यायाधीश सुशीला कार्कीको इजलासले बुधबार शर्मालाई एक वर्ष जेल तथा बिगो र जरिवाना गरी एक करोड रुपैयाँ असुल गर्न फैसला गरेको छ । शर्मासँग ५३ लाख ९९ हजार ७ सय ८० रुपैयाँ जरिवाना र त्यति नै रकम बिगो असुल गर्न सर्वोच्चले फैसला गरेको हो ।
विशेष अदालतले यसअघि पनि शर्माले दुई करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको ठहर गर्दै दुई वर्ष कैद र जरिवानासहित चार करोड रुपैयाँ बराबरको सम्पत्ति जफत गर्न आदेश दिएको थियो ।

सुदूरपश्चिममा ५ दशमलव ६ रेक्टरको भूकम्प


बैतडी, पुस २५ - बुधबार दिउँसो एक बजेर ३० मिनेट जाँदा सुदूरपश्चिममाभूकम्प गएको छ ।बाजुराको उत्तरी क्षेत्रमा केन्द्र बिन्दु भएर ५ दशमलव ५ रेक्टर स्केलकोभूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।  बाजुरा, बैतडी, बझांग, डडेल्धुरा, कैलालीसम्म धक्का महसुस गरिएको छ । क्षती भएको जानकारी नआएको स्थानीय प्रशासनले जनाएको छ । समान्य अवस्थाको भएकाले धेरै क्षती नभएको मापन केन्दको अनुमान छ ।

Tuesday, 18 December 2012

‘मरे’ भनिएका ३९ सय मान्छे जिउँदै !


कस्तो अचम्म ! नेपाल सरकारले बेपत्ता भएका र मरिसकेका व्यक्तिहरुको सूचिमा राखेका ३ हजार ९ सय मानिस जिउँदै फेला परेका छन् ।शान्ति मन्त्रालयअन्तर्गतको ‘द्वन्द्व प्रभावित व्यक्ति परिवार तथा संरचनाको लगत संकलन कार्यदल’ले तयार पारेको प्रतिवेदनमा मृतक एवं बेपत्ता भनिएका ३ हजार ९ सय व्यक्तिहरु जीवितै रहेको पुष्टि भएपछि शान्ति मन्त्रालयले धेरै वर्ष लगाएर तयार पारेको द्वन्द्वपीडितहरुको प्रतिवेदन झुठको पुलिन्दामा परिणत भएको छ ।
सशस्त्र द्वन्द्वका क्रममा प्रभावित भएकाहरुको विवरण संकलन गर्ने जिम्मा पाएको कार्यदलको प्रतिवेदनमा समावेश गरिएको विवरण झुठो प्रमाणित भएपछि शान्ति मन्त्रालयले यसलाई तुरुन्त सच्याउन निर्देशन दिएको छ । ‘कार्यदलको प्रतिवेदनमा समावेश विवरण गलत पाइएपछि सच्याउन निर्देशन दिएका छौं,’ -मन्त्रालयका उपसचिव प्रेमप्रसाद सञ्जेलले भन्नुभयो ।
मृतक र वेपत्ता भनेर समावेश गरिएका व्यक्तिका परिवारका सदस्य लामो समयसम्म पनि राहत लिन सम्पर्कमा नआएपछि मन्त्रालयले तथ्य पत्ता लगाउन विभिन्न जिल्लामा अनुगमन गरेको थियो । अनुगमनका क्रममा प्रतिवेदनमा जिउँदा मानिसको नाम पनि मृतक भनी समावेश भएको पाइएको सञ्जेलले बताउनुभयो । साथै प्रतिवेदनमा अधिकांश व्यक्तिको नाम दोहोरो र तेहोरो रहेको उहाँले बताउनुभएको छ ।सरकारले सम्वन्धित जिल्ला प्रशासन कार्यालयमार्फत् मृतक र वेपत्ता परिवारका सदस्यलाई प्रतिपरिवार तीन लाख रुपैयाँसम्म राहत वितरण गर्दै आएको छ ।
‘प्रतिवेदन सच्याउने काम जारी’
मन्त्रालयको निर्देशनपछि कार्यदलले आफ्नो प्रतिवेदन सच्याउन सुरु गरेको छ । सम्वन्धित जिल्ला प्रशासन कार्यालयमा पत्र पठाएर वा टेलीफोनमार्फत् जानकारी लिएर विवरण सच्चाउन सुरु गरिएको द्वन्द्व प्रभावित व्यक्ति परिवार तथा संरचनाको लगत संकलन कार्यदलका सदस्यसचिव ध्रुव गैंडाले जानकारी दिनुभयो ।’जिल्ला प्रशासन कार्यालयकै सिफारिसअनुसार प्रतिवेदनमा नाम समावेश गरेका हौं,’ सदस्य सचिव गैंडाले भन्नुभयो, ‘सिफारिस भएर आएकामध्ये केही विवरण गलत पाइएकाले सच्याउने काम भैरहेको छ ।’ कार्यदलबाट माग भएअनुसार जिल्ला प्रशासन कार्यालय रोल्पाले मात्रै ६२ जनाको गलत विवरण हटाउन भन्दै पत्र पठाएको छ ।
कार्यदलले सशस्त्र युद्ध सुरु भएको २०५२ फागुन १ देखि शान्ति सम्झौता भएको अवधि २०६३ मंसिर ५ गतेभित्रका घटनालाई द्वन्द्वको अवधि मानेर २०६४ देखि तथ्याङ्क संकलन गर्दै आएको छ । कार्यदलले मृतक, वेपत्ता, टुहुरा, अपाङ्ग, घाइते, सम्पत्तिक्षति, अपहरण, कैद हिरासत र विस्थापित गरी ९ शीर्षकमा विवरण संकलन गर्दछ ।

नेपालमा ८ सय वर्षअघिको महाभूकम्प फर्कन सक्ने


आठ सय १४ वर्ष अघि नेपालका हिमालय क्षेत्रमा गएको महाभूकम्प फेरि फर्कन सक्ने एक अध्ययनले दाबी गरेको छ । फ्रान्स, सिंगापुर र नेपालका भूगर्भविद्हरुले गरेको पछिल्लो अध्ययनले नेपालमा सन् १२५५ साल जुन ७ मा गएको ७ दशमलब ७ रेक्टर स्केलको महाभूकम्प नेपालका हिमालय क्षेत्रमा पुनः फर्कने सक्ने देखाएको हो ।समाचार संस्था एएफपीका अनुसार १२५५ सालमा गएको महाभूकम्पले काठमाडौँका एक तिहाइ नागरिकको ज्यान जानुका साथै हजारौँ घर तथा मन्दिर ध्वस्त भएका थिए । सोही महाभूकम्पमा परी तत्कालीन राजा अभय मल्लको समेत ज्यान गएको थियो । भूगर्भविद्हरुले पृथ्वीको सतहमा देखिने लामो चिरामा अवस्थित नदीमा रहेका अवशेषहरुको अध्ययनपछि नेपाललगायत हिमालय क्षेत्र भूकम्पीय दृष्टिले खतरामा रहेको चेतावनी दिएका हुन् । सोही चिरामा भारतीय उपमहाद्वीप प्रत्येक वर्ष ५० मिलिमिटरको गतिमा एसिया टेक्टोनिक प्लेटलाई हिर्काउँदै अघि बढेको अध्ययनले देखाएको छ विज्ञहरुले गरेको ४० हजार वर्ष पुरानो कार्बनको अध्ययनमा एक ठाउँमा भूहलचल देखिएको र सो भूहलचल १२५५ साल ७ जुनमा नेपालमा गएको ७ दशमलब ७ रेक्टर स्केलको महाभूकम्पसंग मेल खाएको एएफपीको समाचारमा उल्लेख छ ।६ शताब्दीपछि सोही ठाउँमा अर्को चिरा परेको र त्यो सन् १९३४ मा नेपालमा गएको ८ दशमलब २ रेक्टर स्केलको भूकम्पसंग मेल खाएको अध्ययनले देखाएको छ ।प्लेटको ठक्करबाट पृथ्वीको सतह टुक्रिएको प्रमाण नभेटिएकाले पनि अध्ययन महत्वपूर्ण मानिएको छ । अध्ययन अनुसार अर्को विनाशअघि शक्ति सञ्चय गर्न केही शताब्दी लाग्नेछ । अध्ययनमा अघिल्लो घटनाको अभिलेख नराखिने तथा प्राचीन घटना मुस्किलले सम्झिने भएकाले शताब्दीपछि हुने यस्ता घटना डरलाग्दा हुने बताइएको छ ।

Thursday, 6 December 2012

परलोक भइन् संसारकै बुढी


विश्वमै सबैभन्दा बढि उमेरको मानिसको रुपमा रहेकी एक अमेरिकी महिलाको १ सय १६ वर्षको उमेरमा मृत्यु भएको छ ।
बेस कुपर नामकी ती महिलाको मंगलबार जर्जियाको एक नर्सिड होममा निधन भएको उनका छोराले बताएका छन् । मंगलबार बिहान क्रिसमसको भिडियो हेरेकी कुपर एक्कासी विरामी भइन् र परलोक समेत भइन् ।
कुपरले विश्वको सबैभन्दा वृद्ध मानिसको रुपमा सन् २०११ जनवरीमा गिनिज बुकमा नाम लेखाएकी थिइन् । मे महिनामा उनीभन्दा ४८ दिन जेठी महिला ब्राजिलमा रहेको पत्ता लागेपनि ती ब्राजिली महिलाको जुनमै मृत्यु भएपछि कुपरको ताज खोसिन पाएन ।टेनिसीमा जन्मिएकी कुपर पहिलो विश्वयुद्ध ताका जागिरको खोजीमा जर्जिया बसाइँ सरेकी थिइन् । कुपरको मृत्युपछि १ सय १५ वर्षकी अमेरिकाकै डिना म्यानफ्रेडिनीले विश्वकी सबैभन्दा वृद्ध मानिसको ताज लगाउनेछिन् ।स्मरण रहोस् विश्वमा अहिलेसम्म धेरै वर्ष बाँच्ने व्यक्ति फ्रान्सकी जेन्नी काल्मेट हुन् । जो १ सय २२ वर्षको उमेरमा सन् १९९७ मा परलोक भएकी थिइन् ।

नेपालका गैडा बचाउन गुगलको सहयोग


इन्टरनेट कम्पनी गुगलले वन्यजन्तु संरक्षणको क्षेत्रमा पनि हात हालेको छ । गुगलको यो कदमबाट नेपाललाई समेत प्रत्यक्ष फाइदा पुग्नेछ, अर्थात् नेपालमागैँडा, बाघ लगायतका वन्यजन्तुको संरक्षणमा समेत गुगलको यो सहयोग राशी उपयोग हुनेछ ।
संकटापन्न वन्यजन्तुको संरक्षण र चोरीसिकारी नियन्त्रणका लागि भन्दै गुगलले एक अन्तर्राष्ट्रिय संस्थालाई ५० लाख अमेरिकी डलर सहयोग प्रदान गरेको हो । विश्व वन्यजन्तु कोषलाई दिइएको उक्त सहयोग राशी संकटापन्न वन्यजन्तुको चोरीसिकार गर्ने तस्करहरुको निगरानी राख्ने मानव रहित जहाजको संचालनमा खर्च गरिने बताइएको छ । स्मरण रहोस्, विश्व वन्यजन्तु कोषले नेपालका तराई क्षेत्रमा वन्यजन्तु तस्करहरुको निगरानीका लागि मानव रहित जहाजको प्रयोग सुरु गरिसकेको छ, जसमार्फत राष्टिय निकुञ्ज क्षेत्रमाथिको आकाशबाट निकुञ्जका वन्यजन्तुको अनुगमनका साथै चोरसिकारीहरुको निगरानी गरिन्छ । वन्यजन्तु कोषले यस्ता मानवरहित जहाज विश्वभरीनै प्रयोगमा ल्याउने तयारी गरेको छ ।
गुगलको सहयोग राशीबाट मानवरहित जहाज ड्रन कार्यक्रमलाई एसिया र अफि्रकाका अरु देशमा समेत विस्तार गरी गैँडा, हात्ती, बाघ लगायतका संकटापन्न वन्यजन्तुको संरक्षणमा टेवा पुग्ने विश्वास गरिएको छ । साथै यो सहयोग राशी वन्यजन्तुको ट्यागिङ प्रविधि, सेन्सर, तथा अनुगमन सफ्टवेयर लगायतका क्षेत्रमा पनि खर्च गरिनेछ । गुगलले आफ्नो विश्वव्यापी प्रभाव अवार्ड अन्तरगत विश्व वन्यजन्तु कोषलाई सहयोग राशी प्रदान गरेको बताएको छ । कठीन मानवीय चुनौति सँग जुध्न नयाँ प्रविधि तथा सोँचका साथ काम गरिरहेका संस्थालाई यस्तो अवार्ड दिइने गुगलको भनाइ छ । गुगलले यो पाला वन्यजन्तु कोषसँगै अरु ६ संस्थालाई समेत यस्तो अवार्ड प्रदान गरेको छ ।

संसार ध्वस्त भएरै छाड्ने अस्ट्रेलियाली प्रधानमन्त्रीको दाबी


अस्ट्रेलियाली प्रधानमन्त्री जुलिया गिलार्डले संसारको अन्त्य अवश्यंभावी रहेको भन्दै यस्तो प्रलयको दिन नजिकिइरहेको बताउनुभएको छ । यो वर्षको डिसेम्बर २१ मा पृथ्वी ध्वस्त हुने हल्ला चलिरहेको अवस्थामा एक भिडियो सन्देशमा गिलार्डले अस्ट्रेलियाली जनतालाई सम्बोधन गर्दै माया पात्रोको भविष्यवाणी सही रहेको र संसार ध्वस्त हुने पक्का रहेको दाबी गर्नुभयो । संसार कुन हिसाबले ध्वस्त हुन्छ भन्ने कुरा थाहा नभएपनि यो अवश्य नास हुने गिलार्डको भनाइ छ ।यसैबीच संसार ध्वस्त हुने भनिएको डिसेम्बर २१ नजिकिँदै गर्दा मायावी विश्वको केन्द्र मानिने ग्वाटेमालामा विदेशी पर्यटकको घुइँचो बढेको अस्ट्रेलियाबाट सञ्चालित कम्युनिटी न्युज पोटल एयु नेपालले जनाएको छ । ग्वाटेमालामा डिसेम्बर २० र २१ मा विश्व मानवताको नयाँ विहानी शिर्षकको विश्व सम्मेलन हुँदैछ । माया पात्रोका अनुसार डिसेम्बर २१ का दिन अहिलेको विश्व ध्वस्त हुन्छ र नयाँ संसारको सिर्जना सुरु हुन्छ ।

इजिप्टका लागि नेपाली राजदूतको निधन



इजिप्टका लागि नेपाली राजदूत श्यामलाल तबदारको हृदयघातका कारण निधन भएको छ ।इजिप्टको स्थानीय समयअनुसार आज बिहान हृदयघात भएपछि अस्पताल लैजाने क्रममा उहाँको निधन भएको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दियो ।उहाँको शव नेपाल ल्याउने तयारी भइरहेको त्यसका लागि सवै खर्च सरकारले बेहोर्ने मन्त्रालय स्रोतले जानकारी दियो । तबदार लामो समयदेखि मधुमेह र उच्च रक्तचापसम्बन्धी रोगबाट पिडीत हुनुहुन्थ्यो ।यसअघि कार्य क्षेत्रमै रहेको अबस्थामा नेपालका दुई जना राजदूतको निधन भएको थियो । अमेरिकाका लागि तत्कालिन राजदूत जयप्रताप राणा र पाकिस्तानका लागि राजदूत चुडाबहादुर हमालको पनि सम्बन्धित मुलुकमा कार्यरत रहेकै बेला निधन भएको थियो ।

साँग्रिला होटलका कामदार मृत भेटिए


धुलखेलमा रहेको सांग्रिला होटल (द्वारिकाज) मा कार्यरत एक मजदुरको रहस्यमय तरिकाबाट मृत्यु भएको छ । उनीसँगै काम गर्ने दुई जना कामदार बेहोस अवस्थामा भेटिएका छन् ।ललितपुरको बडिखेल ४ का ३५ बर्षका सन्तोष पहरी मृत अवस्थामा भेटिएका छन् भने सोही ठाउँका २३ बर्षका ओम पहरी र १७ बर्षका लक्ष्मण पहरी बेहोस छन् । उनीहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।घटना रहस्यमय भएकाले अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

भोलिदेखि दैनिक १० घण्टा लोडसेडिङ


नेपाल विद्युत प्राधिकरणले फेरि लोडसेडिङको समयअवधि बढाएको छ ।  प्राधिकरणले शनिबारदेखि लागु हुने गरी दिनमा १० घण्टा लोडसेडिङ हुने जनाएको छ ।नदीहरुमा पानीको सतह क्रमशः घट्दै गएकाले लोडसेडिङको अवधि बढाउनु परेको प्राधिकरणको प्रणाली सञ्चालन विभागका प्रमुख भुवनकुमार क्षेत्रीले जानकारी दिनुभयो ।यसअघि आजसम्म दिनको आठ घण्टामात्र लोडसेडिङ हुँदै आएको थियो । प्राधिकरणले आजै दिउँसो लोडसेडिङको नयाँ तालिका सार्वजनिक गर्ने भएको छ ।

चन्द्रमाको यात्रा गर्न पाइने !


अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका केही पूर्व अधिकारीहरुले मानिसहरुलाई चन्द्रको यात्रा गराउन ‘गोल्डेन स्पाइक’ नामका कम्पनी स्थापना गरेका छन् ।तर, चन्द्रको यात्रा धेरैको पहुँच भन्दा बाहिर देखिन्छ । कम्पनीले २ जनालाई चन्द्रमाको यात्रा गराउन १.४ विलियन अमेरिकी डलर तोकेको छ । मानिसहरुलाई चन्द्रमाको यात्रा गराउन पहिल्यै रहेको रकेट र क्याप्सुल प्रयोग गरिनेछ ।
चन्द्रमा यात्राको सुरुवात यसै दशकमा हुनेछ । यसअघि स्पेस एक्स नामक कम्पनीले केही सामान अन्तराष्ट्रिय अन्तरिक्षमा पुर्‍याएको थियो । नासाका पूर्व सहायक प्रशासक एलेन स्टर्नले गोल्डेन स्पाकले देक्षिण अफि्रका, दक्षिण कोरिया र जापान जस्ता देशका सरकारलाई चन्द्रमा यात्रा गराउन कुराकानी भइरहेको छ । उनीहरुका बैज्ञानिकहरु चन्द्रमामा परीक्षण गर्न उत्साहित रहेको गोल्डन स्पाइकले बताएको छ ।कम्पनीले एक वर्षमा १५ देखि २० यात्रा चन्द्रमाको गराइनेछ । केहीले भने गोल्डेन स्पाइक जस्ता कम्पनी काम सुरु गर्नु अघि नै समाप्त हुने तर्क गरेका छन् ।

Wednesday, 5 December 2012

कुखुराको मासु सस्तियो

राजधानीमा कुखुराको मासुको भाउ घटेको छ। जिउदो कुखुराको भाउ घटेपछि मासुको मूल्यमा कमी आएको हो। राजधानीमा ब्रोइलर कुखुराको मासु किलोमा १५ रुपैयाँ घटेको हो। किलोमा २ सय रुपैयाँ रहेको कुखुराको मासु घटेर किलोको १ सय ८५ रुपैयाँमा झरेको हो। 
 उत्पादन बढेर तराईबाट कुखुरा बढी आएकाले मूल्य घटेको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अध्यक्ष जंगबहादुर बिसीले बताए।उनका अनुसार साढे २ किलोसम्मको जिउँदो कुखुराको भाउ पनि किलोमा १० रुपैयाँ घटेको छ। सोमबारसम्म किलोको १ सय ४५ रुपैयाँमा कारोबार भइरहेको जिउँदो कुखुरा मंगलबारदेखि किलोको १ सय ३५ रुपैयाँमा कारोबार भएको छ।मासुको भाउ घटेपछि किसानले लागतभन्दा कममा कुखुरा बिक्री गर्नुपर्ने अवस्था आएको छ। किसानले १ किलोको जिउँदो कुखुरा तयार गर्दा १ सय ५० देखि १ सय ६० रुपैयाँ पर्छ। तर किलोको १ सय ३५ मा बिक्री गर्दा किलोमा १५ देखि २५ रुपैयाँसम्म घाटा बेहोर्नुपरिरहेको छ।अहिले किसान, ह्याचरी, दाना उद्यागी सबै घाटामा छन्,' आशापुरी ह्याचरीका सञ्चालक नारायणहरी खत्रीले भने, 'समग्र कुखुरा व्यवसायमा नै संकट छाएको छ।' उनले चल्ला बिक्री नभएको बताए। एउटा चल्ला उत्पादन गर्न करिब ५० रुपैयाँ लागेपनि अहिले २० रुपैयाँमा बेच्नु परेको उनले बताए।किसानले चल्ला राख्न नसकेकाले समस्या भएको खत्रीले जानकारी दिए। अहिले सातामा १६ देखि १७ लाख चल्ला उत्पादन हुने भएको छ। त्यसमध्ये ७० प्रतिशत मात्र न्यूनतम मूल्यमा बिक्री हुन्छ। अरु नष्ट भइरहेको खत्रीले बताए।

मलेसियामा नेपालीको मृत्यु

वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया गएका खोटाङका एक युवाको मृत्यु भएको छ। त्यहाँको पेनाङ राज्यको तामान पेलाङगीस्थित सुपरमार्केटमा कार्यरत महादेवस्थान-६ का दीलिप राईको सोमबार राति मृत्यु भएको आफन्तले जनाएका छन्। 
 राई बेलुका साथीसँगै सुतेका थिए। विहान सुतेकै अवस्थामा उनी मृत फेला परेको उनका साथी प्रकाश राईले बताए। तीनवर्षअघि मलेसिया गएका राई माघमा घर फर्कने तयारीमा थिए। मलेसियामा कार्यरत खोटाङे युवाको संगठन खोटाङ सेवा समाजले उनको शव घर पर्काउने व्यवस्था मिलाउन नेपाली राजदुताबाससँग प्रक्रिया अघि बढाइसकेको छ। 

नेताको आडमा बसपार्कको करोडौँ राजश्व तिरिएन

देशको सबैभन्दा ठूलो नयाँ बसपार्क व्यवस्थापनको जिम्मा पाएको ठेकेदार कम्पनीले यात्रु सहजताका लागि निर्माण गर्नुपर्ने भौतिक पूर्वाधार निर्माणमा अटेर गर्दै वर्षौँदेखि काठमाडौं महानगरपालिकालाई तिर्नुपर्ने करोडौं राजश्वसमेत तिरेको छैन। 
 झन्डै १२ वर्षदेखि ज्यादै सस्तो दरमा राजश्व तिर्नेगरी बसपार्क सञ्चालनको जिम्मेवारी पाएको ल्होत्से बहुउद्देश्यीय प्रालिले जिम्मेवार राजनीतिक व्यक्तिका आडमा राजश्व तिर्न र सर्वसाधारणलाई सेवा पुर्‍याउने भौतिक संरचना तिर्न अटेर गरेको हो।१४ वर्षअघि जापानले नेपाललाई उपहारस्वरुप बनाइदिएको १ सय ६१ रोपनी क्षेत्रफलको बसपार्क प्रभावशाली राजनीतिक व्यक्तिको पहुँचका आधारमा ल्होत्सेले ४५ वर्षका लागि ठेक्का पाएको थियो।'बक्यौता तिर्न पटक-पटक लिखित पत्राचार गरे पनि उसले बेवास्ता गरेको छ,' महानगरपालिका राजश्व महाशाखा प्रमुख राज्यप्रकाश प्रधानांगले भने, 'सस्तोमै ठेक्का दिएर करोडौं नतिर्दा पनि महानगरले किन यस्तो भयो भनेर भन्ने आँटसम्म गर्न सकेन।' उनका अनुसार ल्होत्सले महानगरलाई साढे तीन करोड रुपैयाँभन्दा भन्दा बढी राजश्व बुझाउन बाँकी छ। पहिल्यै जापानले बनाइदिएको बसपार्कलाई अन्तर्राष्ट्रिय स्तरको बसपार्कसरह निर्माण गर्न ठेक्का सम्झौतामा उल्लेख भए पनि व्यापारिक मल लगायत अनधिकृत भौतिक संरचना निर्माण गर्नेबाहेकका यात्रु सुविधाका लागि कुनै पनि सेवामूलक संरचना निर्माण गरेको छैन।तत्कालीन मेयर केशव स्थापितको पालामा २०५६/१२/२९ मा महानगरपालिका र ल्होत्सेवीच भएको सम्झौता अनुसार बसपार्कमा अन्तर्राष्ट्रियस्तरको प्रवेशद्वार, यात्रु प्रतिक्षालय, सार्वजनिक शौचालय, टिकट काउन्टर, स्विमिङ पुल, अन्डरग्राउन्ड पार्किङ, खानेपानी सेवा, प्राथमिक उपचार केन्द्र, सूचना केन्द्र, स्टोर रुम, बगैंचासहितको सुविधासम्पन्न बसपार्कका रूपमा विकास गर्नुपर्ने सम्झौता भएको थियो। जसअनुसार बसपार्कभित्र यात्रु सुरक्षाको व्यवस्थासमेत ल्होत्सेले नै गर्नुपर्ने थियो। सम्झौता अनुसार बगैंचामा उपलब्ध धेरैजसो सुविधालाई आर्थिकभन्दा सेवामूलक हिसाबले विकास गर्न त्यसको रकम ल्होत्सेले लिने र उसले महानगरलाई वार्षिक ५२ लाख रुपैयाँ राजश्व बुझाउने उल्लेख छ। तर ल्होत्सेले बसपार्कमा व्यावसायिक कामबाहेकका कुनै पनि पूर्वाधार निर्माण गरेको छैन। अहिले जोसुकै सर्वसाधारण त्यहाँ पुग्दा पिउने पानी, यात्रु प्रतीक्षालय र शौचालय समेत छैन। त्यहाँ हातमा डुलाएर घडी बेच्नेबाट समेत मासिक हजारौं असुल्ने तर कुनै सुविधा उपलब्ध नगराएको महानगर कर्मचारी बताउँछन्। हाल बसपार्कमा देशका विभिन्न भागबाट भित्रेका बस थुपार्ने काम मात्र भइरहेको छ। त्यहाँ सर्वसाधारणका लागि सेवामुखी पूर्वाधार निर्माण गर्नु त परै जाओस् त्यहाँ महानगरको स्वीकृतिसमेत नलिई कान्तिपुर मलजस्ता व्यावसायिक पूर्वाधार मात्रै बनाएको छ।सम्झौता अनुसार बसपार्कलाई सुविधासम्पन्न बनाउन ल्होत्सेले सुरुमै ३२ करोड ६० लाख ३ हजार ३ सय ५० लगानी गर्नुपर्ने भए पनि महानगरले हालसम्म ल्होत्सेले १७ करोड रुपैयाँ त्यो पनि नाफामुखी लगानीमात्र गरेको छ। उसले सर्वसाधारणको सुविधाको पूर्वाधार निर्माण र सुविधाका लागि कुनै लगानी नगरेको महानगरको दाबी छ।तत्कालीन मेयर स्थापितकै पालामा केही राजनीतिक प्रभावशाली व्यक्तिको दबाबमा सस्तो मूल्यमा ल्होत्सेलाई ४५ वर्षका लागि ठेक्कामा दिइएको थियो। सार्वजनिक निजी साझेदारी अन्तर्गत दिइएको यो ठेक्का महानगरको हितमा नभएको महानगरप्रमुख केदारबहादुर अधिकारी स्विकार्छन्। 'त्यतिबेला जुन सम्झौता भयो त्यो महानगरको त्यति हितमा देखिँदैन र आफैंमा बाझिएको छ,' कार्यकारी प्रमुख अधिकारीले भने, 'यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नै एकआपसमा बाझिने खालका दुई निर्देशन दिएपछि झनै अन्योलमा परेका छौं।' यसअघि अख्तियारले सम्झौता अनुसार काम नगरेको भन्दै मापदण्ड विपरीत कान्तिपुर मल लगायतका सबै संरचना भत्काउने र सम्झौता पुनरावलोकन गरी ल्होत्सेलाई पैसा थप गर्न लगाउन निर्देशन दिएको थियो।
विदेशीले उपहारस्वरुप बनाइदिएको उक्त बसपार्क सेवामूलकभन्दा पनि व्यावसायिक उद्देश्यले बनाएको, त्यसबाट सरकारलाई कुनै फाइदा नभएको र तोकिएको न्युनतम राजश्वसमेत नउठेको भन्दै कारबाही प्रक्रिया थाल्न महानगरका विभिन्न कर्मचारी संगठनले समेत पटक-पटक दबाब दिँदै आएका छन्। तर प्रमुख राजनीतिक पार्टीका प्रभावशाली व्यक्तिकै सेयर रहेको ल्होत्सले नक्सा पास नगरी भवन बनाउँदासमेत महानगर निरीह बनेको महानगरका उच्च अधिकारी स्विकार्छन्। 'मासिक एक करोड आम्दानी हुने उक्त ठाउँमा वार्षिक ५२ लाख (त्यति सस्तो) राजश्व पनि बुझाउँदैनन्,' महानगरका एक अधिकृतले भने, 'जुन कार्यकारी वा विभागीय प्रमुख आए पनि उनीहरूकै पक्षमा हुन्छन् अनि कहाँबाट पैसा उठनु?' उनले ल्होत्सेको कारणमात्रै नभई हरेक पटक फेरिने कार्यकारी र महानगरका विभागीय, महाशाखा प्रमुखकै संरक्षणका कारण राजश्व असुलीमा ढिलाइ भएको र उसले सरकारी सम्पत्तिमा रजाईँ गरेको उनले दावी गरे। उनले जति ढिलो लम्ब्यायो राजश्वको ब्याज फाइदा हुने भएकाले ल्होत्सेले आनाकानी गरेको उनको तर्क छ।महानगरका प्रशासन प्रमुख महेश काफ्ले ल्होत्सेले पैसा तिर्न विभिन्न सर्त अघि सारेपछि सम्झौता पुनरावलोकनका लागि अध्ययन गर्न दुवैतर्फका प्रतिनिधि सम्मिलित कार्यदल गठन गरिएको बताए। कार्यदल संयोजक राम थापाले कार्यदलले सम्झौता पुनरावलोकनका लागि ड्राफ्ट तयार गरे पनि अन्तमा ल्होत्से नमानेपछि रोकिएको बताए। 'पैसा तिर्ने होइन मास्टर प्लान कोसँग छ भन्ने विषयमा विवाद छ,' थापाले भने। यसअघि सम्झौताको सक्कल कपी महानगरबाटै गायब भएपछि सुरुमा भएको सम्झौता र आफ्नो जिम्मेवारीबाट ल्होत्से पन्छिँदै आएको महानगर कर्मचारीले बताए।
ल्होत्सेका महाप्रवन्धक कुमार थापाले सम्झौता विपरीत अनधिकृत रूपमा संरचना बनाएको स्विकारे। 'हामीले ठेक्का लिएपछि कान्तिपुर मल बनाउन हामीले अरूलाई नै लिजमा दिएका थियौं,' महाप्रवन्धक थापाले भने, 'उसले नक्सै पास नगरी कान्तिपुर मल लगायत संरचना बनाएछ। राज्यले केही गर्न सक्तैन भने हामीले के गर्नु?' उनले समयमै पैसा नतिरेपछि दुई वर्षअघि महानगरले निर्माणकार्य रोक्का गरेपछि आफूहरूले पैसा नतिरेको दाबी गरे। 'सम्झौता अनुसार सेवामूलकभन्दा पनि नाफा कमाउनमै केन्द्रित भएको सत्य हो,' उनले भने, 'बीचमा हामीले अर्कैलाई लिजमा दिएका थियौं, उसले पैसा कमाउनेबाहेक केही काम गरेनछ।' उनले त्यहाँ भौतिक संरचना निर्माण गर्न नदिएसम्म महानगरले पैसा देऊ भन्नु 'भित्रबाट आफूले चुकुल लगाएर बाहिरको मान्छेलाई भित्र आऊ' भन्नुजस्तै भएको तर्क गरे। उनले यसअघि महानगरलाई दस लाख बुझाउन खोजेको तर महानगरले लिन नमानेपछि उसको बैंकको खातामा जम्मा गरिदिएको तर्क गरे। 'आफूले गरेका सम्झौता कार्यान्वयन गराउन नसक्नु र मापदण्ड विपरीत भवन बन्नु भनेको राज्यको निरीहपन हो,' उनले भने, 'हामीले यस विषयमा महानगरसँग छलफल गरिसकेका छौं, अब छिट्टै नयाँ सम्झौता हुन्छ।' यसअघि बसपार्क प्रकरणमा भएको अनियमितताको कारण देखाउँदै राष्ट्रिय सतर्कता केन्द्रले महानगरलाई 'सबैभन्दा भ्रष्ट निकाय' घोषणा गरेको थियो।
Related Posts Plugin for WordPress, Blogger...

!!! Nepali News !!!

१) तपाइलाई यस ब्लग मा सबै भन्दा के मन परयो ???

wibiya widget

Life Clock

Website counter